About Thaha

 

थाहा आन्दोलन र रेडियो थाहा सञ्चारको सम्वन्ध

01पञ्चायती शासनकालताका प्रशासनले दमनको निति अख्तीयार गरेका बेला रुपचन्द्र विष्टले गरेको जनमुखी राजनिति चरममा थियो । देशैभर उहाँको चर्चा थियो । उहाँको अभियानको प्रसंसा गर्ने धेरै थिए । तर असुरक्षाका कारण उहाँलाई साथ दिने समुह भने निकै सानो थियो । उहाँको विरोधीहरु पनि उत्तिकै सकृय थिए । यस्तो असुरक्षाका बेला पनि विष्टको विचार र दर्शनवाट प्रभावित भएर हेटौंडा– ५ मकवानपुरकी विश्वकान्ती कलावती सुमार्गीले जनमुखी राजनितिमा सकृय सहभागिता जनाउनुभयो । विष्टको अनुयायीमात्रै नभई जनमुखी राजनितिकै महत्वपूर्ण हिस्सा बन्नुभएकी विश्वकान्ती कलावती सुमार्गी र उहाँको सिंगो परिवारले जनमुखी राजनिति र थाहा अभियानका क्रममा झण्डै २० वर्ष विष्टसंग सहकार्य गरेको छ । सुमार्गी परीवार विष्टलाई दार्शनिक गुरु र अभिभावक मान्दछ । विश्वकान्ती कलावती सुमार्गी, उहाँका सुपुत्रद्धय अजेयराज सुमार्गी र अरुणराज सुमार्गी तथा सुपुत्री अनिता सुमार्गी शुवेदी रुपचन्द्र विष्टको ससम्मान स्मरण गर्दै उहाँसंग विताएको महत्वपुर्ण कालखण्डप्रति गर्व गर्नुहुन्छ ।
नश्वर शरीर हो, सवैले एक दिन मरेर जानु छ । एक दिन त्यस्तै भयो, बिक्रम सम्वत २०५६ असार छ गते भौतिक रुपमा रुपचन्द्र विष्ट रहनुभएन । उपचारका क्रममा काठ्माण्डौंको विर अस्पतालमा उहाँले देहत्याग गर्नुभयो । नेपालले एक होनहार विचारक र भविष्यद्रष्टा गुमायो ।

उहाँको निधनलगत्तै थाहा आन्दोलनमा विराम लाग्यो, यो आन्दोलन सेलाउने भयो भन्ने चर्चा चलिरहेका बेला सुमार्गी परिवार भने थाहा आन्दोलनका लागि चिरस्थायी र प्रभावकारी हुनेगरी केही काम गर्ने हुट्हुटीमा थियो । २० वर्ष लामो सहकार्यका क्रममा रुपचन्द्र विष्टलाई नजिकवाट महसुस गरेको सुमार्गी परीवार उहाँका गहनतम् विचारहरुसंग पनि उत्तीकै परिचित थियो, त्यसैले सुमार्गी परिवारमाथि विष्टको विचारलाई जिवितै राख्ने र अझ फैल्याउने दायित्व पनि बढेर गएको अवस्था थियो । ति विचारहरु मर्न नपाउन् र नयाँ पुस्ताका युवाहरु पनि विष्टको दर्शनसंग परिचीत होउन् भन्नका लागि कुनै ठोस काम गर्न आवश्यक थियो ।

थाहा आन्दोलनको अभिनेता नै नरहेको अवस्थामा के गर्ने के नगर्ने भन्ने अन्यौल व्यप्त हुँदै थियो । सुमार्गी परिवारले अन्य जनमुखी सहकर्मीहरुसंग मिलेर विष्टको स्मृितमा स्मारीका प्रकासन, स्वास्थ्य गृह सञ्चालन लगायतमा योगदान पु¥याईरहेपनि सन्तुष्ट हुन सकिरहेको थिएन । यसैविच, जनमुखी सहकर्मी विश्वकान्ती कलावती सुमार्गीका ज्येष्ठ सुपुत्र अजेयराज सुमार्गीले विष्टको सम्झनामा एफएम रेडियो स्थापना गर्ने सोच बनाउनुभयो । यसबारेको लामो छलफल र गहन तयारीपछि २०६४ फागुन ७ गते हेटौंडाको लामसुरे हाईटमा एउटा रेडियोको स्थापना गरियो र नाम राखियो– रेडियो थाहा सञ्चार । यस रेडियोले रुपचन्द्र विष्टद्धारा प्रतिपादित, निष्पक्ष सकृयताको अभ्यास ( कसैको पक्ष– विपक्षमा नलागि सत्य पत्ता लगाउन बैज्ञानीक आधारहरुको प्रयोग गर्ने, समाजलाई प्रगतीशील र चेतनशील बनाउन निरन्तर पहल गरिरहने, विकासको दिशामा अघि बढ्न सकृय रहने, मै खाँउ मै लाँउ नभई सर्वे भवन्तु सुखीनः को भावनालाई प्राथमिकता दीने सिद्धान्तलाई उहाँ निष्पक्ष सकृयताको अभ्यास भन्ने गर्नुहुन्थ्यो ।01 सत्य ज्ञानको प्राप्ति तथा ठिक कामको मुहार्न थाहा' हो र सत्य थाहा नपाईकन ठिक काम हुन सक्दैन भन्ने सिद्धान्त विज्ञानसम्मत छ भन्ने उहाँको दृढ मान्यता थियो । ) मा आधारित रहेर समाजको आवश्यकता र चाहना बमोजीमका कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । यसलाई स्रोताहरुले रुचाएको पाईएको छ र त्यसैको आधारमा रेडियोले सफलताका साथ यति लामो यात्रा तय गरेको छ ।

सञ्चार प्रावधान अन्तर्गत व्यवसायिक रेडियोको रुपमा दर्ता भएपनि यो रेडियो गैह्रनाफामुखी रेडियो हो । सुमार्गी परिवारले रेडियो सञ्चालनका क्रममा अपुग हुने रकम परिपुर्ती र यसले गर्ने आम्दानी थाहा दर्शनको प्रचारप्रसार, रेडियोको भौतीक पुर्वाधार र यसमा कार्यरत् कर्मचारीको हितमा प्रयोग गर्दै आएको छ । सोही नितिअनुरुप रेडियोले स्थापनाको दोस्रो वर्षदेखि नै न्युनतम पारीश्रमिकको व्यवस्था लागु गरेको हो ।

प्रसारणको तेस्रो बर्षको उपलक्ष्यमा सञ्चालनमा आएको अनलाईन प्रसारण र वेभसाईटमा रेडियो थाहा सञ्चार र दार्शनिक रुपचन्द्र विष्टसंग सम्वन्धीत थुप्रै सामाग्रीहरु राखिएका छन् । यसले रुपचन्द्र विष्ट र यस रेडियोबारे अझै नजिकवाट थाहा पाउन मद्दत गर्नेछ भन्ने अपेक्षा लिईएको छ ।

रुपचन्द्र विष्ट र थाहा

01 रुपचन्द्र विष्टले एकचोटि मकवानपुरको एउटा दुर्गम गाउँमा विकास, सीप, क्षमता आदिबारे भाषण दिएछन् । विष्टले उक्त भाषणमा विकसित देशहरुले गरिरहेको प्रगतिको चर्चा गरेछन्, उनीहरुले अपनाएको सीप र महिलाहरुको सक्रियताको प्रशंसा गरेछन् । भाषणलगत्तै स्थानीय एक अर्धबैँसे चेपाङले विष्टलाई प्रश्न गरे अरे, ‘सर अरुअरु देश त्यति धनी, त्यसत विकसित, हाम्रोचाहिँ किन यस्तो ?’ जवाफमा विष्टले भनेछन्, ‘गाँठी कुरै यही हो । ‘थाहा’ थाल्नुपर्ने नै यहीँवाट । हाम्रो रगत, यो देशको माटो, यहाँ लाग्ने घाम, यहाँ चल्ने हावा दोषी होइनन् । दोष कहाँ छ, पत्ता लगाउन गाह्रो पनि छैन । त्यसका लागि ‘थाहा’ चाहिन्छ । थाहा भनेको ध्यान हो । चिन्तन हो ।’

रुपचन्द्र विष्ट थाहा अभियानमार्फत् तत्कालीन राजनीतिक अभ्यासका कमजोरीमाथि ठाडो प्रहार गर्ने गर्थे, भलै थाहा दर्शनको विषय राजनीतिमा मात्र सीमित थिएन । तर समुन्नत समाजको सूत्रधार मानिने राजनीतिको मुहान नै दूषित भएका कारण उनका अधिकांश विचारहरु यही फोहर सफा गर्नमा केन्द्रित थियो । राजनीतिबारे उनको बडो सरल बुझाई थियो । भन्थे,‘धर्मले सम्पूर्ण प्राणीजगत्को भलो गर्न खोज्दछ । राजनीतिले सम्पूर्ण मानवजगत्को भलो गर्ने लक्ष्य राख्दछ । राजनीतिलाई जनहितको कसीमा राखेर मूल्यांकन गरिनुपर्दछ ।’ जनता र जनप्रतिनिधिको सम्वन्धबारे पनि उनले सजिलो व्याख्या गरेका छन् । ‘मतदातालाई आफ्नो स्वार्थ हेर्ने अधिकार छ । चुनाव हुने नै मतदाताको स्वार्थको लागि हो । तर जनप्रतिनिधिलाई आफ्नो स्वार्थ हेर्ने छुट छैन । उसले मतदाताको स्वार्थ हेर्नुपर्दछ । ’

रुपचन्द्र विष्ट युवाहरुलाई सवैभन्दा ठूलो उर्जा मान्दथे । उनी भन्थे– ‘युवाहरु सवैभन्दा प्रगतिवादी  हुन्छन् । युवाहरु परिवर्तन चाहने, विकास चाहने चरित्रका हुन्छन् । त्यसैले युवालाई कहिल्यै उपेक्षा गर्नु हुँदैन । युवाहरु नै सम्भावनाका वाहक हुन् ।’ 

रुपचन्द्र विष्टद्वारा प्रतिपादित थाहा दर्शनको नाममा सञ्चालित रेडियो थाहा सञ्चारले बेलाबखत थाहा र रुपचन्द्र विष्टको सामाजिक अभियानबारे अन्तक्रिया गरिरहन्छ । यस्तै, एउटा अन्तक्रियाको क्रममा रुपचन्द्र विष्ट र उनको विचारलाई राम्रोसँग बुझेका बामपन्थी चिन्तक सोनाम साथीले एउटा गजवको प्रसङ्ग झिके । हाम्रो कृषि प्रणाली र त्यसबारे राज्यले लिएको नीतिबारे गरिएको प्रश्नमा उनले बडो रोचक तथ्यांक दिए, ‘अमेरिकामा डेढ प्रतिशत मानिसहरु कृषिमा आवद्ध छन् । त्यही डेढ प्रतशितले सिंगो अमेरिकाले खाने र घरपालुवा जनावरलाई खुवाउन पुग्नेमात्र होइन, मनग्ये आम्दानीका लागि विदेश निर्यात गर्नेसम्मको कृषि सामग्री उत्पादन गर्दछ । तर हामीकहाँ झण्डै सत्तरी प्रतिशत नेपालीहरु कृषिमा आवद्ध छन् । तर हाम्रो उत्पादनले हामी आफँैलाई खान पनि पुग्दैन ।’ यो तीतो सत्यले स्वतः किन भन्ने प्रश्न उब्जाउँछ । रुपचन्द्रको विचारमा ‘किन’ भन्ने प्रश्नको जवाफ पत्ता लगाउन ‘थाहा’ चाहिन्छ । 

रुपचन्द्र विष्टलाई अझै पनि धेरैले रहस्यमय व्यक्तित्वको रुपमा व्याख्या गरेको पाइन्छ । उनका कुराहरु नबुझिने खालका थिए भन्ने सुनिन्छ । आजीवन जनताको पक्षमा लडेका रुपचन्द्र विष्टलाई कतिले बौलाहसम्म पनि भने । यसबारे माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले रेडियो थाहासञ्चारसँगको कुराकानीमा बताएको एउटा रोचक प्रसंग छ । २०५४ सालमा गर्जन साप्ताहिकका लागि विष्टको अन्तर्वार्ता लिन कार्यकारी सम्पादक प्रकाश र गिरिराजमणि पोखरेल विष्टको कालीमाटीस्थित निवासमा पुगेछन् । सामान्य भलाकुसारीपछि विष्टले पत्रकारद्वयलाई आफ्नी छोरीसँग परिचय गराएछन् । भनेछन्, ‘यी दुईजना अर्धबौलाहहरु हुन् । जनताको वकालत गर्दै बहुलाउने बाटोमा हिँडिरहेका छन्, तर पूरै भने बहुलाइसकेका छैनन् ।’ सत्ता र धनको पछि नलागी जनताको पक्षमा आवाज उठाउने नेताहरु हामीकहाँ अझै त दुर्लभ छन्, तत्कालीन राष्ट्रिय पञ्चायतभित्र रहेर त्यसैका कमजोरीहरुमाथि प्रहार गर्ने विष्टलाई कसैले बौलाह भन्थ्यो भने सायद स्वाभाविक हो, किनकि उनले सधैँं नै विनासम्झौता जनताको पक्षमा आवाज उठाए । कतिले उनलाई असाध्यै बुझेर बौलाह भने, कतिले कत्तिपनि नबुझेर बौलाह भने । 

रुपचन्द्र विष्ट अत्यन्तै दुरद्रष्टा थिए, ठूलो क्यानभासमा सोच्दथे । उनीसँग योजना थियो, नयाँ नेपालको स्पष्ट चित्र थियो । उनी अग्रगमनको पक्षधर थिए । राष्ट्रियताको विषयमा तत्कालीन राष्ट्रिय पञ्चायतमा सदस्यको हैसियतमा उनले दिएको वक्तव्यले पनि उनीबारे बुझ्न थप मद्दत पु¥याउला । उनले नेपाललाई संसारसँग जोडेर सटिक धारणा राखेका छन्, ‘संसारका कति मान्छेलाई हामीले थाहा दिन सकेका छौं कि विश्व मानचित्रमा नेपाल भन्ने देश पनि छ ? धेरैलाई थाहा छैन । जतिलाई थाहा छ उनीहरुले पनि नेपाललाई गरिव देश, भाडाको सैनिकको देश, आफ्नै चेलीहरु रण्डीकोठीमा बेच्ने दलालहरुको देश, माग्नेहरुको देश, भिक्षा र सहयोगमा पनि भ्रष्टाचार गरेर बदनाम हुनेहरुको देश भनेर चिन्दै गएका छन् । यसलाई सुधार्ने कसरी ?’ विष्टको बुझाई थियो, ‘सप्रिएका देशहरु त्यसै सप्रिएका होइनन् । थाहाले सप्रिएका हुन् । उनीहरुलाई थाहा छ कस्तो नीति र चरित्र अपनाउँदा अग्रगमन सम्भव हुन्छ । र, बिग्रिएका देशहरु त्यसै बिग्रिएका होइनन्, भ्रमले बिग्रिएका हुन् । थाहा र भ्रम कुस्ती खेलिरहन्छन् । जब भ्रमले जित्छ, अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध र अशान्ति मौलाउँछ । तर जब थाहाले जित्छ, शान्ति, आनन्द, विकास र न्यायको परिपाटी बस्छ । हामीले थाहा पाउने प्रयत्न मात्र गर्नुपर्दछ, यो सम्भव छ ।’ उनका कुरा कहाँ जटिल छन् ? 

उनको चरित्र र उनका विचारहरु कसैलाई जटिल लाग्दछ भने त्यसको पनि कारण छ । उनले कहिल्यै पनि मलाई भोट देउ, देशलाई रामराज्य बनाउने ठेक्का म लिन्छु भनेनन् । सर्वसाधारणसमक्ष कहिल्यै पनि सपना पस्किएनन् । उनले सदैव जनतालाई जागृत गर्ने प्रयत्न गरे, सर्वसाधारण आफँैले सबै कुरा थाहा पाउन र सत्यलाई साथ देऊन् भन्ने उनको चाहना थियो । राजनीतिक ठेकेदारी प्रथाविरुद्ध उभिँदै उनले जीवनपर्यन्त हाम्रो काम, हामीलाई अनुकूल पर्ने व्यवस्था,  हामी आफैँ मिलेर तय गरौँ भन्ने धारणाको पक्षमा लडिरहे । रुपचन्द्रले सङ्गठन गर्नसमेत रुचाएनन् । कुनै विशेष मुद्दामा सङ्गठित हुनैपर्ने अवस्था आए जनता आफँै जाग्दछन् र सङ्गठित हुन्छन् भन्ने उनको मान्यता थियो । न उनी कुनै वादमा नै बाँधिए । सत्य, न्याय, सुशासन, शिक्षा, चेतना, विकास, मानवीयता आदिको कुनै वाद हुँदैन भन्ने कुराको उनले व्यवहारमार्फत् पुष्टि गरेका छन् । खासमा उनको राजनीतिक चरित्र कस्तो थियो त ? धेरैले आआफ्नै किसिमले व्याख्या गरिसकेका छन् । मैले जानेअनुसार रुपचन्द्र सत्य र न्यायको पक्षपाती थिए । उनले आफ्नो जीवनकालमा सर्वाधिक प्रशंसा बुद्ध, गान्धी र माक्र्सको गरेका छन् । गान्धीले अपनाएको सत्य र अहिंसाको बाटोलाई उनी सबैभन्दा वैज्ञानिक र आधुनिक राजनीतिक बाटो ठान्दथे । तर यदि विचारको क्षेत्रमा बल प्रयोग गरियो, यदि सरकार श्रमजीवीहरुकोे पक्षमा उभिएन भने श्रमिकको चक्रवर्ती शक्ति जाग्दछ र माक्र्सवादले शोषक र सामन्तको साम्राज्य ध्वस्त पार्छ भन्ने उनको विश्लेषण थियो । उनले गान्धी, माक्र्स र माओलाई यसरी जोडेर हेरेका छन् । सबैले फरकफरक परिस्थितिमा जनहितका लागि आआफ्नो ढङ्गले ठूलो योगदान पु¥याएको उनको बुझाइ थियो, जुन आफँैमा वैज्ञानिक छ ।

अस्सलमा रुपचन्द्र जनताका मान्छे थिए । उनी पदको पछाडि कहिल्यै लागेनन् । तत्कालीन अवस्थामा जिम्मेवार पदमा बसेर एक्लैले केही गर्न नसकिने र त्यसो गर्दा जनतालाई जगाउने थाहा अभियानसमेत ओझेलमा पर्नसक्ने उनको बुर्झा थियो । 

उज्यालोको महत्व बुझ्न वा हामी कति अँध्यारोमा छौँ भन्ने थाहा पाउन, त्यसको कारण पहिचान गर्न र समाधानको प्रयत्न गर्नका निम्ति थाहा अत्यन्तै महत्वपूर्ण छ । यो अत्यन्तै सरल पनि छ । थाहा दर्शनमार्फत् विष्टले तिमीसँग सरोकार राख्ने हरेक कुरा थाहा पाऊ, जान, चिन्तन गर अनि सत्य र न्यायको पक्षमा उभिऊ भन्नमात्रै खोजेका हुन् । यसरी चिन्तन गर्दा हरेक व्यक्ति, परिवार, समाज, देश र सिंगो विश्व प्रगतितर्फ उन्मुख हुन्छ भन्ने उनको विचारमाथि चिन्तन गरौँ । थाहा पाऔँ ।

रुपचन्द्र विष्टको संक्षिप्त जीवनी

नाम रुपचन्द्र बिष्ट, रुदाने, रापसरु, जसरु, स्वरुपे
बाबु मेजर पदमबहादुर विष्ट
आमा चित्रकुमारी
जन्म १९९० पुस २६
विवाह २०२६ पुस २६ (पछि सम्बन्धबिच्छेद)
पारिवारिक स्थिति एक छोरा, एक छोरी
निर्वाचन उम्मेदवारी विं.सं. २०१५, २०२८, २०३८, २०४३, २०४८, २०५१, २०५६
रापस सदस्य विसं २०३८, २०४३
बुर्जुवा शिक्षा बी.ए, बीएल्
योगीकाल भारतबर्ष, पूर्वीय धर्म दर्शन अध्ययन
अध्ययनकाल ७ बर्ष दामन, स्वअध्ययन प्राकृतिक विद्या
शिक्षाक्षेत्र विकासकाल प्र.अ.,जनकल्याण मावि, २०२९-३०
विकासकाल प्रधानपञ्च-२०२२, पालुङ् विकास समिति (०३१)
विचार सम्प्रेषणकाल विं.सं. २०३८-०५६
स्वभाव विद्रोही
मृत्यु २०५६ असार ७, विर अस्पताल, काठ्माण्डौं
Sunne lae sunko mala

Latest News

More News

Special Programs