About Thaha
थाहा आन्दोलन र रेडियो थाहा सञ्चारको सम्वन्ध
पञ्चायती शासनकालताका प्रशासनले दमनको निति अख्तीयार गरेका बेला रुपचन्द्र विष्टले गरेको जनमुखी राजनिति चरममा थियो । देशैभर उहाँको चर्चा थियो । उहाँको अभियानको प्रसंसा गर्ने धेरै थिए । तर असुरक्षाका कारण उहाँलाई साथ दिने समुह भने निकै सानो थियो । उहाँको विरोधीहरु पनि उत्तिकै सकृय थिए । यस्तो असुरक्षाका बेला पनि विष्टको विचार र दर्शनवाट प्रभावित भएर हेटौंडा– ५ मकवानपुरकी विश्वकान्ती कलावती सुमार्गीले जनमुखी राजनितिमा सकृय सहभागिता जनाउनुभयो । विष्टको अनुयायीमात्रै नभई जनमुखी राजनितिकै महत्वपूर्ण हिस्सा बन्नुभएकी विश्वकान्ती कलावती सुमार्गी र उहाँको सिंगो परिवारले जनमुखी राजनिति र थाहा अभियानका क्रममा झण्डै २० वर्ष विष्टसंग सहकार्य गरेको छ । सुमार्गी परीवार विष्टलाई दार्शनिक गुरु र अभिभावक मान्दछ । विश्वकान्ती कलावती सुमार्गी, उहाँका सुपुत्रद्धय अजेयराज सुमार्गी र अरुणराज सुमार्गी तथा सुपुत्री अनिता सुमार्गी शुवेदी रुपचन्द्र विष्टको ससम्मान स्मरण गर्दै उहाँसंग विताएको महत्वपुर्ण कालखण्डप्रति गर्व गर्नुहुन्छ ।
नश्वर शरीर हो, सवैले एक दिन मरेर जानु छ । एक दिन त्यस्तै भयो, बिक्रम सम्वत २०५६ असार छ गते भौतिक रुपमा रुपचन्द्र विष्ट रहनुभएन । उपचारका क्रममा काठ्माण्डौंको विर अस्पतालमा उहाँले देहत्याग गर्नुभयो । नेपालले एक होनहार विचारक र भविष्यद्रष्टा गुमायो ।
उहाँको निधनलगत्तै थाहा आन्दोलनमा विराम लाग्यो, यो आन्दोलन सेलाउने भयो भन्ने चर्चा चलिरहेका बेला सुमार्गी परिवार भने थाहा आन्दोलनका लागि चिरस्थायी र प्रभावकारी हुनेगरी केही काम गर्ने हुट्हुटीमा थियो । २० वर्ष लामो सहकार्यका क्रममा रुपचन्द्र विष्टलाई नजिकवाट महसुस गरेको सुमार्गी परीवार उहाँका गहनतम् विचारहरुसंग पनि उत्तीकै परिचित थियो, त्यसैले सुमार्गी परिवारमाथि विष्टको विचारलाई जिवितै राख्ने र अझ फैल्याउने दायित्व पनि बढेर गएको अवस्था थियो । ति विचारहरु मर्न नपाउन् र नयाँ पुस्ताका युवाहरु पनि विष्टको दर्शनसंग परिचीत होउन् भन्नका लागि कुनै ठोस काम गर्न आवश्यक थियो ।
थाहा आन्दोलनको अभिनेता नै नरहेको अवस्थामा के गर्ने के नगर्ने भन्ने अन्यौल व्यप्त हुँदै थियो । सुमार्गी परिवारले अन्य जनमुखी सहकर्मीहरुसंग मिलेर विष्टको स्मृितमा स्मारीका प्रकासन, स्वास्थ्य गृह सञ्चालन लगायतमा योगदान पु¥याईरहेपनि सन्तुष्ट हुन सकिरहेको थिएन । यसैविच, जनमुखी सहकर्मी विश्वकान्ती कलावती सुमार्गीका ज्येष्ठ सुपुत्र अजेयराज सुमार्गीले विष्टको सम्झनामा एफएम रेडियो स्थापना गर्ने सोच बनाउनुभयो । यसबारेको लामो छलफल र गहन तयारीपछि २०६४ फागुन ७ गते हेटौंडाको लामसुरे हाईटमा एउटा रेडियोको स्थापना गरियो र नाम राखियो– रेडियो थाहा सञ्चार । यस रेडियोले रुपचन्द्र विष्टद्धारा प्रतिपादित, निष्पक्ष सकृयताको अभ्यास ( कसैको पक्ष– विपक्षमा नलागि सत्य पत्ता लगाउन बैज्ञानीक आधारहरुको प्रयोग गर्ने, समाजलाई प्रगतीशील र चेतनशील बनाउन निरन्तर पहल गरिरहने, विकासको दिशामा अघि बढ्न सकृय रहने, मै खाँउ मै लाँउ नभई सर्वे भवन्तु सुखीनः को भावनालाई प्राथमिकता दीने सिद्धान्तलाई उहाँ निष्पक्ष सकृयताको अभ्यास भन्ने गर्नुहुन्थ्यो ।
सत्य ज्ञानको प्राप्ति तथा ठिक कामको मुहार्न थाहा' हो र सत्य थाहा नपाईकन ठिक काम हुन सक्दैन भन्ने सिद्धान्त विज्ञानसम्मत छ भन्ने उहाँको दृढ मान्यता थियो । ) मा आधारित रहेर समाजको आवश्यकता र चाहना बमोजीमका कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । यसलाई स्रोताहरुले रुचाएको पाईएको छ र त्यसैको आधारमा रेडियोले सफलताका साथ यति लामो यात्रा तय गरेको छ ।
सञ्चार प्रावधान अन्तर्गत व्यवसायिक रेडियोको रुपमा दर्ता भएपनि यो रेडियो गैह्रनाफामुखी रेडियो हो । सुमार्गी परिवारले रेडियो सञ्चालनका क्रममा अपुग हुने रकम परिपुर्ती र यसले गर्ने आम्दानी थाहा दर्शनको प्रचारप्रसार, रेडियोको भौतीक पुर्वाधार र यसमा कार्यरत् कर्मचारीको हितमा प्रयोग गर्दै आएको छ । सोही नितिअनुरुप रेडियोले स्थापनाको दोस्रो वर्षदेखि नै न्युनतम पारीश्रमिकको व्यवस्था लागु गरेको हो ।
प्रसारणको तेस्रो बर्षको उपलक्ष्यमा सञ्चालनमा आएको अनलाईन प्रसारण र वेभसाईटमा रेडियो थाहा सञ्चार र दार्शनिक रुपचन्द्र विष्टसंग सम्वन्धीत थुप्रै सामाग्रीहरु राखिएका छन् । यसले रुपचन्द्र विष्ट र यस रेडियोबारे अझै नजिकवाट थाहा पाउन मद्दत गर्नेछ भन्ने अपेक्षा लिईएको छ ।
रुपचन्द्र विष्ट र थाहा
रुपचन्द्र विष्टले एकचोटि मकवानपुरको एउटा दुर्गम गाउँमा विकास, सीप, क्षमता आदिबारे भाषण दिएछन् । विष्टले उक्त भाषणमा विकसित देशहरुले गरिरहेको प्रगतिको चर्चा गरेछन्, उनीहरुले अपनाएको सीप र महिलाहरुको सक्रियताको प्रशंसा गरेछन् । भाषणलगत्तै स्थानीय एक अर्धबैँसे चेपाङले विष्टलाई प्रश्न गरे अरे, ‘सर अरुअरु देश त्यति धनी, त्यसत विकसित, हाम्रोचाहिँ किन यस्तो ?’ जवाफमा विष्टले भनेछन्, ‘गाँठी कुरै यही हो । ‘थाहा’ थाल्नुपर्ने नै यहीँवाट । हाम्रो रगत, यो देशको माटो, यहाँ लाग्ने घाम, यहाँ चल्ने हावा दोषी होइनन् । दोष कहाँ छ, पत्ता लगाउन गाह्रो पनि छैन । त्यसका लागि ‘थाहा’ चाहिन्छ । थाहा भनेको ध्यान हो । चिन्तन हो ।’
रुपचन्द्र विष्ट थाहा अभियानमार्फत् तत्कालीन राजनीतिक अभ्यासका कमजोरीमाथि ठाडो प्रहार गर्ने गर्थे, भलै थाहा दर्शनको विषय राजनीतिमा मात्र सीमित थिएन । तर समुन्नत समाजको सूत्रधार मानिने राजनीतिको मुहान नै दूषित भएका कारण उनका अधिकांश विचारहरु यही फोहर सफा गर्नमा केन्द्रित थियो । राजनीतिबारे उनको बडो सरल बुझाई थियो । भन्थे,‘धर्मले सम्पूर्ण प्राणीजगत्को भलो गर्न खोज्दछ । राजनीतिले सम्पूर्ण मानवजगत्को भलो गर्ने लक्ष्य राख्दछ । राजनीतिलाई जनहितको कसीमा राखेर मूल्यांकन गरिनुपर्दछ ।’ जनता र जनप्रतिनिधिको सम्वन्धबारे पनि उनले सजिलो व्याख्या गरेका छन् । ‘मतदातालाई आफ्नो स्वार्थ हेर्ने अधिकार छ । चुनाव हुने नै मतदाताको स्वार्थको लागि हो । तर जनप्रतिनिधिलाई आफ्नो स्वार्थ हेर्ने छुट छैन । उसले मतदाताको स्वार्थ हेर्नुपर्दछ । ’
रुपचन्द्र विष्ट युवाहरुलाई सवैभन्दा ठूलो उर्जा मान्दथे । उनी भन्थे– ‘युवाहरु सवैभन्दा प्रगतिवादी हुन्छन् । युवाहरु परिवर्तन चाहने, विकास चाहने चरित्रका हुन्छन् । त्यसैले युवालाई कहिल्यै उपेक्षा गर्नु हुँदैन । युवाहरु नै सम्भावनाका वाहक हुन् ।’
रुपचन्द्र विष्टद्वारा प्रतिपादित थाहा दर्शनको नाममा सञ्चालित रेडियो थाहा सञ्चारले बेलाबखत थाहा र रुपचन्द्र विष्टको सामाजिक अभियानबारे अन्तक्रिया गरिरहन्छ । यस्तै, एउटा अन्तक्रियाको क्रममा रुपचन्द्र विष्ट र उनको विचारलाई राम्रोसँग बुझेका बामपन्थी चिन्तक सोनाम साथीले एउटा गजवको प्रसङ्ग झिके । हाम्रो कृषि प्रणाली र त्यसबारे राज्यले लिएको नीतिबारे गरिएको प्रश्नमा उनले बडो रोचक तथ्यांक दिए, ‘अमेरिकामा डेढ प्रतिशत मानिसहरु कृषिमा आवद्ध छन् । त्यही डेढ प्रतशितले सिंगो अमेरिकाले खाने र घरपालुवा जनावरलाई खुवाउन पुग्नेमात्र होइन, मनग्ये आम्दानीका लागि विदेश निर्यात गर्नेसम्मको कृषि सामग्री उत्पादन गर्दछ । तर हामीकहाँ झण्डै सत्तरी प्रतिशत नेपालीहरु कृषिमा आवद्ध छन् । तर हाम्रो उत्पादनले हामी आफँैलाई खान पनि पुग्दैन ।’ यो तीतो सत्यले स्वतः किन भन्ने प्रश्न उब्जाउँछ । रुपचन्द्रको विचारमा ‘किन’ भन्ने प्रश्नको जवाफ पत्ता लगाउन ‘थाहा’ चाहिन्छ ।
रुपचन्द्र विष्टलाई अझै पनि धेरैले रहस्यमय व्यक्तित्वको रुपमा व्याख्या गरेको पाइन्छ । उनका कुराहरु नबुझिने खालका थिए भन्ने सुनिन्छ । आजीवन जनताको पक्षमा लडेका रुपचन्द्र विष्टलाई कतिले बौलाहसम्म पनि भने । यसबारे माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले रेडियो थाहासञ्चारसँगको कुराकानीमा बताएको एउटा रोचक प्रसंग छ । २०५४ सालमा गर्जन साप्ताहिकका लागि विष्टको अन्तर्वार्ता लिन कार्यकारी सम्पादक प्रकाश र गिरिराजमणि पोखरेल विष्टको कालीमाटीस्थित निवासमा पुगेछन् । सामान्य भलाकुसारीपछि विष्टले पत्रकारद्वयलाई आफ्नी छोरीसँग परिचय गराएछन् । भनेछन्, ‘यी दुईजना अर्धबौलाहहरु हुन् । जनताको वकालत गर्दै बहुलाउने बाटोमा हिँडिरहेका छन्, तर पूरै भने बहुलाइसकेका छैनन् ।’ सत्ता र धनको पछि नलागी जनताको पक्षमा आवाज उठाउने नेताहरु हामीकहाँ अझै त दुर्लभ छन्, तत्कालीन राष्ट्रिय पञ्चायतभित्र रहेर त्यसैका कमजोरीहरुमाथि प्रहार गर्ने विष्टलाई कसैले बौलाह भन्थ्यो भने सायद स्वाभाविक हो, किनकि उनले सधैँं नै विनासम्झौता जनताको पक्षमा आवाज उठाए । कतिले उनलाई असाध्यै बुझेर बौलाह भने, कतिले कत्तिपनि नबुझेर बौलाह भने ।
रुपचन्द्र विष्ट अत्यन्तै दुरद्रष्टा थिए, ठूलो क्यानभासमा सोच्दथे । उनीसँग योजना थियो, नयाँ नेपालको स्पष्ट चित्र थियो । उनी अग्रगमनको पक्षधर थिए । राष्ट्रियताको विषयमा तत्कालीन राष्ट्रिय पञ्चायतमा सदस्यको हैसियतमा उनले दिएको वक्तव्यले पनि उनीबारे बुझ्न थप मद्दत पु¥याउला । उनले नेपाललाई संसारसँग जोडेर सटिक धारणा राखेका छन्, ‘संसारका कति मान्छेलाई हामीले थाहा दिन सकेका छौं कि विश्व मानचित्रमा नेपाल भन्ने देश पनि छ ? धेरैलाई थाहा छैन । जतिलाई थाहा छ उनीहरुले पनि नेपाललाई गरिव देश, भाडाको सैनिकको देश, आफ्नै चेलीहरु रण्डीकोठीमा बेच्ने दलालहरुको देश, माग्नेहरुको देश, भिक्षा र सहयोगमा पनि भ्रष्टाचार गरेर बदनाम हुनेहरुको देश भनेर चिन्दै गएका छन् । यसलाई सुधार्ने कसरी ?’ विष्टको बुझाई थियो, ‘सप्रिएका देशहरु त्यसै सप्रिएका होइनन् । थाहाले सप्रिएका हुन् । उनीहरुलाई थाहा छ कस्तो नीति र चरित्र अपनाउँदा अग्रगमन सम्भव हुन्छ । र, बिग्रिएका देशहरु त्यसै बिग्रिएका होइनन्, भ्रमले बिग्रिएका हुन् । थाहा र भ्रम कुस्ती खेलिरहन्छन् । जब भ्रमले जित्छ, अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध र अशान्ति मौलाउँछ । तर जब थाहाले जित्छ, शान्ति, आनन्द, विकास र न्यायको परिपाटी बस्छ । हामीले थाहा पाउने प्रयत्न मात्र गर्नुपर्दछ, यो सम्भव छ ।’ उनका कुरा कहाँ जटिल छन् ?
उनको चरित्र र उनका विचारहरु कसैलाई जटिल लाग्दछ भने त्यसको पनि कारण छ । उनले कहिल्यै पनि मलाई भोट देउ, देशलाई रामराज्य बनाउने ठेक्का म लिन्छु भनेनन् । सर्वसाधारणसमक्ष कहिल्यै पनि सपना पस्किएनन् । उनले सदैव जनतालाई जागृत गर्ने प्रयत्न गरे, सर्वसाधारण आफँैले सबै कुरा थाहा पाउन र सत्यलाई साथ देऊन् भन्ने उनको चाहना थियो । राजनीतिक ठेकेदारी प्रथाविरुद्ध उभिँदै उनले जीवनपर्यन्त हाम्रो काम, हामीलाई अनुकूल पर्ने व्यवस्था, हामी आफैँ मिलेर तय गरौँ भन्ने धारणाको पक्षमा लडिरहे । रुपचन्द्रले सङ्गठन गर्नसमेत रुचाएनन् । कुनै विशेष मुद्दामा सङ्गठित हुनैपर्ने अवस्था आए जनता आफँै जाग्दछन् र सङ्गठित हुन्छन् भन्ने उनको मान्यता थियो । न उनी कुनै वादमा नै बाँधिए । सत्य, न्याय, सुशासन, शिक्षा, चेतना, विकास, मानवीयता आदिको कुनै वाद हुँदैन भन्ने कुराको उनले व्यवहारमार्फत् पुष्टि गरेका छन् । खासमा उनको राजनीतिक चरित्र कस्तो थियो त ? धेरैले आआफ्नै किसिमले व्याख्या गरिसकेका छन् । मैले जानेअनुसार रुपचन्द्र सत्य र न्यायको पक्षपाती थिए । उनले आफ्नो जीवनकालमा सर्वाधिक प्रशंसा बुद्ध, गान्धी र माक्र्सको गरेका छन् । गान्धीले अपनाएको सत्य र अहिंसाको बाटोलाई उनी सबैभन्दा वैज्ञानिक र आधुनिक राजनीतिक बाटो ठान्दथे । तर यदि विचारको क्षेत्रमा बल प्रयोग गरियो, यदि सरकार श्रमजीवीहरुकोे पक्षमा उभिएन भने श्रमिकको चक्रवर्ती शक्ति जाग्दछ र माक्र्सवादले शोषक र सामन्तको साम्राज्य ध्वस्त पार्छ भन्ने उनको विश्लेषण थियो । उनले गान्धी, माक्र्स र माओलाई यसरी जोडेर हेरेका छन् । सबैले फरकफरक परिस्थितिमा जनहितका लागि आआफ्नो ढङ्गले ठूलो योगदान पु¥याएको उनको बुझाइ थियो, जुन आफँैमा वैज्ञानिक छ ।
अस्सलमा रुपचन्द्र जनताका मान्छे थिए । उनी पदको पछाडि कहिल्यै लागेनन् । तत्कालीन अवस्थामा जिम्मेवार पदमा बसेर एक्लैले केही गर्न नसकिने र त्यसो गर्दा जनतालाई जगाउने थाहा अभियानसमेत ओझेलमा पर्नसक्ने उनको बुर्झा थियो ।
उज्यालोको महत्व बुझ्न वा हामी कति अँध्यारोमा छौँ भन्ने थाहा पाउन, त्यसको कारण पहिचान गर्न र समाधानको प्रयत्न गर्नका निम्ति थाहा अत्यन्तै महत्वपूर्ण छ । यो अत्यन्तै सरल पनि छ । थाहा दर्शनमार्फत् विष्टले तिमीसँग सरोकार राख्ने हरेक कुरा थाहा पाऊ, जान, चिन्तन गर अनि सत्य र न्यायको पक्षमा उभिऊ भन्नमात्रै खोजेका हुन् । यसरी चिन्तन गर्दा हरेक व्यक्ति, परिवार, समाज, देश र सिंगो विश्व प्रगतितर्फ उन्मुख हुन्छ भन्ने उनको विचारमाथि चिन्तन गरौँ । थाहा पाऔँ ।
रुपचन्द्र विष्टको संक्षिप्त जीवनी
| नाम | रुपचन्द्र बिष्ट, रुदाने, रापसरु, जसरु, स्वरुपे |
| बाबु | मेजर पदमबहादुर विष्ट |
| आमा | चित्रकुमारी |
| जन्म | १९९० पुस २६ |
| विवाह | २०२६ पुस २६ (पछि सम्बन्धबिच्छेद) |
| पारिवारिक स्थिति | एक छोरा, एक छोरी |
| निर्वाचन उम्मेदवारी | विं.सं. २०१५, २०२८, २०३८, २०४३, २०४८, २०५१, २०५६ |
| रापस सदस्य | विसं २०३८, २०४३ |
| बुर्जुवा शिक्षा | बी.ए, बीएल् |
| योगीकाल | भारतबर्ष, पूर्वीय धर्म दर्शन अध्ययन |
| अध्ययनकाल | ७ बर्ष दामन, स्वअध्ययन प्राकृतिक विद्या |
| शिक्षाक्षेत्र विकासकाल | प्र.अ.,जनकल्याण मावि, २०२९-३० |
| विकासकाल | प्रधानपञ्च-२०२२, पालुङ् विकास समिति (०३१) |
| विचार सम्प्रेषणकाल | विं.सं. २०३८-०५६ |
| स्वभाव | विद्रोही |
| मृत्यु | २०५६ असार ७, विर अस्पताल, काठ्माण्डौं |
On Air
lok geet and khel khabar
Time: 17:05–18:00 (Thursday)Coming Up Next
Samachar Sangalo
Time: 18:00–18:30 (Thursday)- Browse More
Latest News
- पानको मूल्य बढ्यो
- हे भगवान ! आज पनि बन्द !
- प्रहरीलाई छक्याएर भागेका खेमराज प्रजा समातिए
- भगवानको राजिनामापछि सिन्हा आए
- बन्द गराएकोमा बैद्यलाई कमल थापाको धन्यवाद (हेर्नुहोस् थापाको ट्विट)
- बन्दका क्रममा मकवानपुरमा सवारी साधन तोडफोड
- सर्प मर्दा रुवाबासी (हाम्रै मकवानपुरको घटना)
- यस्तो छ मकवानपुरको स्थानिय बजेट
- मकवानपुरमा 'लोकल' तोरीको खेति उपयूक्त
- गाडी भाडा ९ प्रतिशत बढ्ने






