Thaha

Saturday 27 April - 9:58 am NST

वैद्य नेतृत्वको माओवादी फूट्यो

File Photo

 काठमाडौं, १ जेठ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फेरि फुटेको छ । 
नेता रामबहादुर थापा बादल समूहले छुट्टै केन्द्रीय समिति बैठक बसेर बादलको नेतृत्वमा एमाओवादीसँग एकतामा जाने निर्णय गरेसँगै क्रान्तिकारी माओवादी औपचारिक रुपमा फूटेको हो । बैठकले बादलले पेश गरेको १७ बुँदे राजनीतिक प्रस्ताव र पार्टी एकताका लागि बनेको १३ बुँदे आधार प्रस्ताव सुझावसहित पारित गरेको नेता लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । मोहन वैद्य एकताका लागि तयार भन्ने तर पहलकदमी नगरी पछि हटेकोले बादलको नेतृत्वमै एकतामा जाने निर्णय गरिएको नेता न्यौपानले जानकारी दिनुभयो । 
अध्यक्ष मोहन वैद्यका ठाउँमा बादललाई नेता बनाइएको छ । तर वैद्यलाई कारवाही वा निष्काशन केही पनि भनिएको छैन । बैठकमा १ सय १३ जना केन्द्रीय सदस्य उपस्थित रहेको बादल पक्षको दाबी छ । भोलि दिउँसो फेरि बस्ने बैठकले एकताको थप गृहकार्य गर्ने नेता न्यौपानेले बताउनुभयो । बादल समूहले एकीकृत माओवादीसँग एकता गर्ने भएपछि अध्यक्ष मोहन वैद्यले बैठक अनिश्चितकालका लागि स्थगित गर्दै एकतालाई पनि अस्वीकार गर्नुभएको थियो । वैद्य नेतृत्वको माओवादी पार्टी फूटेको यो दोस्रो पटक हो । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह यो पार्टीबाट अलग भएको थियो ।
 बादल नेतृत्वको क्रान्तिकारी माओवादीको नयाँ केन्द्रीय समिति, एकीकृत माओवादी, मणि थापा र मात्रिका यादव नेतृत्वको माओवादीबीच एकता हुँदैछ ।